Aarthikaina
हङकङलाई हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता २०२४ मा नेपालले लगातार तेस्रो जित निकालेको छ । ओमानको अल अमेरत मैदान (मिनिस्ट्री टर्फ १) मा सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

हङकङले जितको लागि दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरेका थिए । आसिफ शेखले १८ बलमा ४० रन, कुशल भुर्तेलले १९ बलमा ३२ रन जोड्दा कप्तान रोहित पौडेल २० बलमा २५ रनसहित तथा सन्दीप जोरा १७ बलमा १९ रनसहित अविजित रहेका थिए ।

Manakamana Cable Car

बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्ताजाले समान १/१ विकेट हात पारेका थिए । त्यसअघि, ओमानको अल अमेरत मैदान (मिनिस्ट्री टर्फ १)मा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर, हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।

हङकङका लागि अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए । जिशान अलीले १४ रन, निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाउनु बाहेक हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिएका थिए । ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट लिएका थिए ।

नेपालले मलेसियालाई पाँच विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । आज समूह बी अन्तर्गत खेलमा ओमान र यूएई तथा कुवेत र बहराइन भिड्दैछन् । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update