धादिङ । महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं.३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा बागमती प्रदेशका प्रदेश सांसद मधु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र पालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीको बिशेष आथित्यमा झण्डातोलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा थाक्रे गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे वडा २ का वडाअध्यक्ष टिकाराम तामाङ, थाक्रे वडा ६ का अध्यक्ष हिरा बहादुर थापा, थाक्रे ११ का वडा अध्यक्ष शुदर्शन पाण्डे, स्थानीय नेता, ठाडोखोला समाज सुधार समितिको अध्यक्ष अमर तामाङ, व्यवसायीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा सांसद श्रेष्ठले पर्यटनको प्रचुर संभावना बोकेको झण्डाचुलीलाई थप बिकास गर्न आफूले पहल गर्ने बताए भने थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले झण्डाचुली आउने सडकलाई व्यवस्थित गर्ने बताए । थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीले झण्डाचुलीमा बर्षको एक दिन मात्र कार्यक्रमले मात्र पर्यटक बढाउन नसकिने भएकोले यस्ता कार्यक्रम बर्षको धेरै दिन गर्नुपर्ने कुरामा जोड दिए ।
थाक्रे गाउँपालिकाका वडा नं.३ का वडा अध्यक्ष विजय तामाङले झण्डाचुलीको बिकासमा आफू पालिका, प्रदेशदेखि केन्द्रसम्म पहल गरिरहेको बताए । त्यस्तै, अन्य अतिथिहरुले पनि झण्डाचुलीको बिकासको लागि पहल गर्ने बताए ।
पर्यटनको प्रचुर संभावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहास सम्झँदै प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ ।