नेपाल भारत फ्रेण्डिली आनन्द मार्गद्धारा आयोजित तीन दिवसीय योग टिचर्स क्याम्प राजधानीमा आयोजना भएको छ । मैत्रीय नेपाल चिल्ड्रेन होम तारकेश्वर ओशो तपोवनमा आयोजित योग शिविर आचार्य सन्तोषानन्द अवधुतको प्रमुख आतिथ्यतामा भएको थियो ।
मुख्य प्रशिक्षिका डा.भागिरथी कन्नाधोती रहेको उक्त शिविरमा डा.केदार स्वामी, आचार्य परिपुरानन्द अवधुत, योग गुरु रुपक खड्का, प्रशिक्षक राजकुमार गुप्ता, महेन्द्रसिंह यादवलगायत नेपाल भारतको योगीहरुको सहभागिता रहेको थियो । आत्मा र परम्मात्माको सम्बन्ध योगलाई कसरी विश्वव्यापी बनाउँदै लान सकिन्छ भन्ने छलफल अन्तरक्रियाको लागि पनि यस्ता शिविरहरु आयोजना हुने गरेको बताईएको थियो । त्यसैले मानव रहने पृथ्वी, ब्रह्माण्ड उत्पत्तीलाई शुन्यभावले जान्नुपर्ने योग गुरुहरुको कथन छ ।
योग श्रृष्टिमा अनादि तत्व छ, जुन अदृश्य, निगुर्ण, निराकार ब्रह्म शक्ति हो । त्यहि शक्ति उर्जामा विस्तार र संकुचन हुदाँको परिणाम महा विस्फोटले श्रृष्टिमा अनेकौं भिन्नता देखिन थाल्यो तब एकाकार ब्रह्मबाट अनेककार चेतना र जडको उत्पति भयो, गुरुहरुमा एक्यवद्धता थियो ।
शिविरमा योगलाई शारिरीक, मानसिक र आध्यात्मिक जीवनको आधार बनाउनुपर्ने माथि जोड दिदैँ मानिसहरु निर्गुणबाट सगुण, स्थिरबाट अस्थिर, सुखबाट दुःखमा जाकिदै जानुको मूल कारण त्यहि काल, गति, चेतना र कृयालाई लयमा एकाकार गर्न नसक्नु नै भएको बताइएको थियो ।
यसरी मानव, पृथ्वी र भगवान पञ्चतत्वबाटै बनेको तथ्य यसरी प्रष्ट पार्न सकिन्छ । तर यो अमूल्य श्रृष्टिलाई जन्म, रोग, वृद्ध र मृत्युले पच्छाइरहन्छ । जन्मपछि मृत्यु अवश्यमभावी छ । तर, खल पात्रहरु आहार, विहार, भय र मैथुनमानै अमूल्य जीवन व्यतित गरिरहेका हुन्छन् । तर, योगीहरु यस घेराबाट मुक्त बुद्धत्वको मार्गमा लाग्ने गर्दछन्, धर्म देशनामा भनिएको थियो ।
पञ्चतत्वीय ब्रम्हाडसंग पञ्चतत्वबाट निर्मित स्थुल यो देहको संयोग नै योग हो । त्यसैले यो हाम्रो शरीरलाई पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रियका रुपमा बुझ्न सकिन्छ । पाँच ज्ञानेन्द्रीयमा आँखा/दृश्य–(अग्नी), कान/श्रवण–(आकाश), नाक/गन्ध–(पृथ्वी), जिब्रो/स्वाद–(जल), छाला, स्पर्श (वायु) पर्छ भने पाँच कर्मेन्द्रियमा मुख–(वाणी), हात–(कर्म), खुटटा–(गति), मुतेन्द्रिय–(बंश), मलेन्द्रिय–(सुद्धिकरण) पर्छ ।
शरीरका विभिन्न घटकहरुमा मन र आत्मा, जुन अदृश्य शक्तिले संचालित छ । योग जीवन र जगतलाई जोडने शक्ति मात्र नभई जीवनलाई निरोगी, स्वास्थ्य र सकृय बनाईराख्ने एक प्रक्रिया पनि हो । आयु आरोग्य र जीवन यापनका लागि आहार विहार मैथुनलाई व्यवस्थित गर्दै श्वास प्रश्वासमा विशेष होस पुर्याउनु पर्दछ ।
लामो आयुको लागि लामो श्वास फेर्नु पर्दछ । उदाहरणको लागि थोरै समयमा धेरै पटक श्वास फेर्ने खरायोको छोटो समयमानै मृत्यु हुन्छ भने लामो श्वास फेर्ने कछुवा सय वर्षभन्दा लामो आयु हुन्छ । भनिन्छ एक मिनटमा १५ पटक र एक घण्टाभित्र नौ सय पटकभन्दा कम स्वास फेर्ने मानिस कम बिरामी पर्ने र लामो लामो श्वास प्रश्वास गर्नाले शरीरका प्रत्येक कुनाकुनामा अक्सिजन प्रवाह भई दिर्घजीवी हुने दाबी सो शिविरमा सहभागी योगीहरुको छ ।