Aarthikaina
लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पराजित

काठमाडौं । ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टी-२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्स ‘ए’सँग २१ रनले पराजित भएको छ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ले जितको लागि दिएको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३ बल अगावै २ सय १ रनमा अलआउट भयो ।

एक समय जितनजिक पुगेको नेपाल ‘ए’ का मध्यक्रमका ब्याटरले फिनिसिङ इनिङ खेल्न नसक्दा टोली हारको सामना गर्न पुग्यो । नेपाल ‘ए’का लागि लोकेश बमले ५६ बलमा ९ चौका र ८ छक्कासहित सर्वाधिक १०६ रनको इनिङ्स खेलेका थिए । आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिएका थिए   ।

नेपाल ‘ए’का अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । लोकेश र आरिफले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । लोकेश १५.६ ओभरमा फिओन ह्यान्डको बललाई प्रहार गर्ने क्रममा डीप प्वाइन्टमा थोमस मेयरबाट क्याच आउट भएका थिए ।

Manakamana Cable Car

नेपाल ‘ए’लाई अन्तिम १८ बलमा जितको लागि ३० रन चाहिएको थियो । तर, १८औँ ओभरको दोस्रो बल खेल्दै गर्दा मध्यक्रमका आरिफ शेख म्याथ्यु हम्फ्रेजको बलमा थोमस मेयरबाट गल्लीमा क्याच आउट भएपछि आयरल्यान्डले खेलमा पुनरागमन गर्‍यो ।

नेपाल ‘ए’ले स्कोरमा ७ रन थप्दा किरण ठगुन्ना २ र बसिर अहमदलाई ३ रनमा गुमायो । राशिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता खोल्न सकेनन् । सागर ढकाल १ रनमा अविजित रहेका थिए ।

आयरल्यान्ड ‘ए’का फिओन ह्यान्ड र म्यथ्यू हम्फ्रेज ३/३ विकेट लिएका थिए । म्याथ्यू फोस्टरले २ विकेट लिँदा थोमस मेयर र गेभिन होईले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’का लागि पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । केड कर्माइकल र कप्तान निल रकले समान ३८/३८ रन बनाएर आउट हुँदा स्टीफन डेहेनीले ३४ रनको योगदान दिएका थिए ।

ग्यारेथ डेलानी ३० र र गेभिन होई १८ रनमा अविजित रहे । नेपाल ‘ए’का कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका थिए । सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट हात पारेका थिए । यससँगै आयरल्यान्ड वल्भ्स ‘ए’ले सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update