Aarthikaina
एसइई आजदेखि सुरु: दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी सहभागी हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबारदेखि सुरु हुँदै छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ  । 

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ  । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन्  ।

Manakamana Cable Car

सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिनुभयो  । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको छ  । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ  । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ  । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ  ।

यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ  । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो  । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ  । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ  ।

यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुने छ  । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ  ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update