Aarthikaina
आयरल्याण्ड 'ए'माथि नेपालको सहज जित

काठमाडौं । आयरल्याण्ड वल्भस 'ए'विरुद्धको दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी बनेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल 'ए'ले आयरल्याण्ड 'ए'लाई ६ विकेटले हराएको हो ।

आयरल्याण्ड 'ए'ले जितको लागि दिएको १ सय २२ रनको सामान्य लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपाल 'ए'का लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौकासहित अविजित ३७ रनको योगदान दिएका थिए ।

Manakamana Cable Car

सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान दिएका थिए । दीपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहेका थिए । ओपनर आसिफ शेख १६ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएको खेलमा गुलसन झाले ४ रन बनाएका थिए ।  आयरल्याण्ड 'ए'का ग्यारेथ डेलानीले २ विकेट तथा बेन व्हाइट र थोमस मेयरको नाममा समान १/१ विकेट रह्यो ।

त्यसअघि, टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड 'ए'ले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो । आयरल्याण्डको 'ए'टिमलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले समान २/२ विकेट लिएका थिए । करन केसी र कुशल मल्लले समान १/१ विकेट हात पारेका थिए ।

आयरल्याण्ड 'ए'का लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । थोमस मेयर र लियाम मेक्कार्थीले समान १६/१६ रनको योगदान दिएका थिए । फिओन हाथले ११ रनमा आउट भएका थिए । आयरल्याण्ड 'ए'का अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।\

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड वल्भस 'ए'सँग नेपालको सिनियर टिमले दुई टी-२० खेल्नेछ । त्यस्तै नेपाल 'ए'ले तीन टी-२० सिरिज र तीन वान डे सिरिज खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update