Aarthikaina
उपप्रधान एवम् गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच भेट

 

काठमाडौँ, १२ चैत : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभएको लामिछानेको सचिवालयले जनाएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

उहाँहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीको सुरक्षित नेपाल फिर्तालगायतका विविध विषयमा छलफल भएको थियो । जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै राजदूत गोदरले उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारका तर्फबाट राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गर्नुभयो ।

राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनःमिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गर्नुभयो । उहाँहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update