Aarthikaina
पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रस बोर्डर पर्यटन) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिनसके दुबै देशले फाइदा लिनसक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।

८औँ बंगाल टार्वल मार्ट (बीटिएम–२०२४)को प्रचारप्रसार तथा नेपाली व्यवसायीसँग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा)का पदाधिकारीहरुसँग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । इथवाको आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा ८औँ बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) हुन लागेको छ ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किमलगायतका क्षेत्रबाट पूर्वि नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचारप्रसार र सहजीकरण गर्नसके तेस्रो मुलकका पर्यटकबाट दुबै देश लाभान्वित हुने बताए ।

बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिदैँ नेपाल भारत सीमा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरक्रिया र सहकार्यलाई जारी राख्नुपर्नेमा जोड दिए । इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा)का अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुबै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए ।

इथवाका महासचिव सन्दिपन घोषले सिलगुडिमा आयोजना हुन लागेको बंगाल टार्वल मार्ट (बीटिएम–२०२४)मा नेपालको सहभागिताले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । यो टोलीले काठमाडौं वरपरका चन्द्रगिरी, नगरकोट तथा पोखरा र चितवनलगायतका पर्यटकीय स्थलको भ्रमण तथा ती स्थानहरुमा व्यवसायीहरुसँग अन्तरक्रिया गरि फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा.दाबा शेर्पाले बताए ।

गतवर्ष नेपालको कोशि प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गतवर्ष झापामा सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरको टोली नेपाल आएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update