Aarthikaina
पीएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा

काठमाडौँ । पीएनजीलाई हराउँदै नेपाल हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले जितको लागि दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमा समेटियो । पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन जोडेका थिए  । सिसी वाउले २१ र टोने उराले १२ रन बनाएका थिए । नोसैना पोकानाले १२ रनको योगदान दिएका थिए । पीएनजीका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

Manakamana Cable Car

नेपालका लागि कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिएपछि पीएनजीको इनिङ्स धरासायी बनेको हो । प्रतिस जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ रन बनाएको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेलेका थिए । लोकेश बमले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा ३ छक्कासहित १९ रनको शानदार इनिङ्स खेलेका थिए ।

बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ रन र आरिफ शेख ४ रनमा आउट भएका थिए । गुलसन झा १५ बलमा नटआउट रहेका थिए । पीएनजीका लागि नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान १/१ विकेट लिएका थिए ।

नेपाल टि–२० क्रिकेट सिरिज खेल्न हङकङमा छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।  वर्षाले प्रभावित बनेको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको थियो । सिरिजको अन्तिम खेलमा हङकङ र पीएनजी खेल्नेछन् । विजेता टिमले फाइनलमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update