Aarthikaina
ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड

काठमाडौ । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ । आइतबार भएको खेलमा ४–० गोल अन्तरको शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अंकको अग्रता कायम राख्न सफल भएको हो ।

रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रेको रियल मड्रिडलाई खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले सुरुवाति अग्रता दिलाएका थिए । दोस्रो हाफमा रियलका लागि रोड्रिगो र ब्राहिम डियाज गोलको अवसरबाट चुकेका थिए ।

Manakamana Cable Car

अन्तिम ११ मिनेटमा ३ गोल गर्दै रियल मड्रिडले खेल आफ्नो पक्षमा पार्न सफल भयो । खेलको ७९ औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो ।

रियलको तेस्रो गोल पनि सेल्टाभिगोका डिफेन्डर कार्लोस डोमिनग्वोजले आत्मघाती गोल गरेका थिए । खेलको इन्जुरी समयमा टर्किस युवा खेलाडी आर्डा गुलेरले रियलका लागि पहिलो गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए ।

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी ६२ अंकसहित जिरोना दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ अंक छ । सेल्टा भिगोको २८ खेलमा २४ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update