Aarthikaina
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । मंगलबार कीर्तिपुर मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो ।

नेदरल्यान्ड्सका लागि माइकल लेविटले २९ बलमा ५४ रन बनाएका थिए । उनले ६ चौका र ३ छक्काको मदतले सो रन बनाएका थिए । साइब्रान्ट एन्गेलब्रेक्टले ४८ रनको योगदान गरे । बिक्रमजीत सिंहले २९ र मेक्स ओडाडले २२ रन बनाएका थिए ।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरोले समान १/१ विकेट हात पारेका थिए ।

Manakamana Cable Car

त्यसअघि, टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको थियो ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख ३७ बलमा १ चौका र ३ छक्कासहित ४७ रनमा माइकल लेभिटको बलमा एलबीडब्लु आउट भएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । ओपनर कुशल भुर्तेलले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडेका थिए ।

रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडेका थिए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिएका थिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडेका थिए ।

दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुदाँ आरिफ शेख शुन्य रनमा पोविलियन फर्किएका थिए । सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा अविजित रहेका थिए । नेदरल्यान्ड्सका लागि माइकल लेविट, फ्रेड क्लासेन, टिम वान डेर र साइब्रान्ड एनगेलब्रेक्टले समान २/२ विकेट हात पारेका थिए ।

विश्वकप लिग टू नेपाल आएर नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो । टि-२० त्रिकोणात्मक सिरिज नेपालले यस वर्ष खेल्ने विश्वकप तयारीको सुरुवात समेत हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update