Aarthikaina
समिट एयरका मनोज कार्की वायुसेवा सञ्चालक संघको अध्यक्षमा चयन

काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका एकाउन्टेबल म्यानेजर मनोज कार्की सर्वसम्मत चयन भएका छन् । हालको समितिमा महासचिव रहेका कार्की अध्यक्षमा चयन भएका हुन् ।

यद्यपि नयाँ समिति औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार हुने संघको २३औं साधारण सभाको पूर्वसन्ध्यामा बुधबार सर्वसम्मत नेतृत्व चयन गरिएको हो । ३ वर्षे कार्यकालका लागि चयन हुने पदाधिकारी र कार्यसमितिका लागि बुधबार नै सर्वसम्मत चयन गरिएको संघले जानकारी दिएको छ ।

Manakamana Cable Car

यसअघिका साधारण सभामा पनि एक दिन अघि नै नयाँ कार्यसमिति चयन गर्ने परम्परालाई यो पटक पनि निरन्तरता दिइएको संघको भनाइ छ । संघका एक सदस्यका अनुसार अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएका छन् । तर, उनीहरुको पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन । ‘बिहीबार बेलुका मात्र नाम सार्वजनिक गर्ने सहमति भएको छ,’ ती सदस्यले भने ।

अध्यक्षका लागि कार्कीसहित कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले पनि चासो राखेका थिए । तर, अन्तिममा सहमति गराउँदा कार्कीलाई अध्यक्षको जिम्मेवारी दिइएको ती सदस्यको भनाइ छ । हालका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीच लामो समयदेखि विवाद उत्पन्न भएका कारण संघभित्र अध्यक्ष थापालाई राजीनामा गराएर नयाँ नेतृत्व चयन गर्ने गृहकार्य भएको थियो । तर पनि सफल हुन सकेको थिएन ।

संघभित्र नयाँ नेतृत्व आउँदा प्राधिकरणसँग समन्वय गर्न सक्ने खालको व्यक्तिको खोजी गर्ने क्रममा कार्कीलाई सर्वसम्मत गरिएको एक पदाधिकारीले बताए । संघको २३औं साधारणसभा बिहीबार ५ बजेका लागि तय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update