Aarthikaina
सावित्रा दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन् । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले करियरमा अर्को कोशेढुंगा पार गरेकी हुन् । 

Manakamana Cable Car

सावित्राले खेलको ७६औं मिनेटमा गोल गरेकी थिइन् । उनले १–० गोलले पछि रहेको नेपालका लागि बराबरी गोल फर्काएकी हुन् ।

बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन् । जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन् । उनको नाममा ९ गोल रहेको छ । सावित्राले समूहको पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्दा एक गोल गरिन् ।

दोस्रो खेलमा नेपालले इराकलाई ५–० ले पराजित गर्दा पाँचै गोल सावित्राले गरिन् । यही खेलमार्फत उनले ५० गोल पूरा गरेकी थिइन् । समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध उनले दुई गोल गरेकी थिइन् । उनी वाफ च्याम्पियनसिपमा गोल्डेन बुटको दाबेदार हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update