Aarthikaina
लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रंगाशालामा मंगलबार राति भएकाे सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे ।

नेपालकाे जितमा सावित्रा भण्डारी र प्रिती राईले १-१ गाेल गरे । खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता लिएकाे थियाे । डीबक्स भन्दा निक्कै अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सिधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले खेलमा अग्रता लिएकाे थियाे । 

Manakamana Cable Car

तर खेलको ७६औँ मिनेटमा सावित्राले गाेल गर्दै खेल बराबरीमा पुर्‍याइन् । खेलकाे इञ्जुरी समयमा नेपालका लागि प्रितिले थप १ गाेल गरिन् र नेपाल विजयी भयाे ।

नेपाल समूह 'बी' को विजेता बन्दै वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको थियाे । नेपालले समूह चरणकाे पहिलाे खेलमा इराकलाई ५-० गोल अन्तरले, दाेस्राे खेलमा सिरियालाई ४-१ गोल अन्तरले र तेस्राे खेलमा प्यालेस्टाइनलाई ३-० गोल अन्तरले पराजित गरेकाे थियाे ।

नेपालले अब उपाधिका लागि बिहीबार जोर्डनसँग खेल्नेछ । मंगलबार  भएकाे पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको थियाे । नेपाली टोलीले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update