Aarthikaina
नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल

काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको बिहीबार राति सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियालाई १–० गोलले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ बाट नेपालसँगै प्यालेस्टाइन पनि आफ्नो एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

सिरिया र इराक भने समूहगत चरणबाटै बाहिरिएका छन् । समूहगत चरणको अन्तिम खेल शनिबार खेलिने छ । शनिबारको खेलमा नेपालले प्यालेस्टाइन र सिरियाले इराकको सामना गर्नेछन् । उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।

Manakamana Cable Car

प्रतियोगिताको समूह ‘ए’ मा भने जोर्डन, लेबनान, साउदी अरेबिया र ग्वाम रहेका छन् । उक्त समूहबाट जोर्डन र लेबनान यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुवै टोलीले समूहगत चरणमा दुई–दुई जित हासिल गरिसकेका छन् ।

नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरेका थिए ।

यसैगरी, नेपालले आफ्नो दोस्रो खेलमा इराकमाथि ५–० गोलअन्तरको फराकिलो जित हासिल गरेको थियो । बिहीबार इराकविरुद्धको खेलमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिकसहित पाँच गोल गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सावित्रा भण्डारी ‘साम्बा’को ५० गोल

अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल सङ्ख्या पनि ५० पुगेको छ । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् ।

सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो गोल र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल खेलको ७९औँ मिनेटमा गरेकी थिइन् । नेपाली टोलीले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update