Aarthikaina
गोर्खाली रग्वीको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ । बुधबार दशरथ रंगशालामा लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्वीेले एपीएफ क्लबलाई पराजित गर्यो ।

लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा हरायो । गोर्खाली ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ ४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

Manakamana Cable Car

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्यो । आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा पुलिसलाई ५३–७ ले पन्छायो । जित सहित आर्मी ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

एपीएफसँग समान अंक भएपनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा छ । पुलिस २ अंक सहित चौथौं बनेर पुछारमा छ । प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् । अन्तिम चरणमा पुलिस र एपीएफ तथा गोर्खाली रग्वी र आर्मी क्लब भिड्ने छन् ।

नेपाल रग्वी संघले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र गोर्खाली रग्वी क्लब गरी चार टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्वी संघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update