Aarthikaina
ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि

काठमाडौं । ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर गर्ल्स, हिमरश्मि जुनियर ब्वाइज र विल्सन सिनियर ब्वाइजमा च्याम्पियन बने ।

किङडम हिमालयन बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्सको फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१० ले पराजित गर्यो । ग्रिनल्यान्डकी विहानी राईले १० अंक जोडिन् ।

Manakamana Cable Car

जुनियर ब्वाइजको फाइनलमा हिमरश्मिले भ्याली पब्लिकलाई २६–२५ को साँघुरोअन्तरले हरायो । हिमरश्मिका आयुश पोखरेलले १२ स्कोर गरे । सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४३–३७ ले पाखा लगायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, सिनियर गर्ल्समा ग्रिनल्यान्डकी विहानी राई र जुनियर ब्वाइजमा हिमरश्मिका आयुश पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा किङडम हिमालयनका छेवाङ लामा, सिनियर गर्ल्समा किङडमकै छिरिङ लामा र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुहान भण्डारी, सिनियर गर्ल्समा फेरिल्यान्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमे रिन्जेन लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा प्राण्जली, सिनियर गर्ल्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्समा समान ८–८ तथा जुनियर ब्वाइजमा १६ टिम सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update