Aarthikaina
कन्या गुरुकुलको अक्षयकोषका लागि एक करोड ७५ लाख  सङ्कलन

काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ । गुरुकुललाई दिगो रुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौंले यही फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरेको थियो ।

महायज्ञबाट एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा.गोविन्द टन्डनले बताए । सो महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए । नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक टंकनाथ पौडेलले बताए । उनले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापना कालदेखि नै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् । प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो ।

२०७५ सालदेखि भरतपुर–देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ । नेपालमा दुई सय ५० भन्दाबढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेको राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update