
तनहुँ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा.उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य, उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।
कार्यक्रममा डा.उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिइएको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा डा.उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाएका थिए भने एक गजल ‘मनको चाह’ तत्काल लेखेर सुनाएका थिए ।
सो अवसरमा उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायक शरद र गायिका आचार्यले लाइभ प्रस्तुत गरेका थिए ।
उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गरेका हुन् ।
डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन् । उहाँका एक दर्जन बढी उपन्यास, तीन गीती पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय ५० को हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक भइसकेका छन् । डा.उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या एक सय ५१ पुग्ने तयारीमा रहेको जानकारी दिएका छन् ।
सिद्ध गुफा :
सिद्ध गुफामा दैनिक सयौं पयर्टक आउने गदैछन् । पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछि यो गुफा पुग्न सकिन्छ । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्वविमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।
कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा छ । यहाँ पुग्ने जोसुकैलाई गुफाले दंग बनाउँछ । यस गुफामा एक सन्त ‘सिद्ध बाबा’ले ज्ञान प्राप्त गरेका थिए । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । विशाल पहाडको काखमा हरियाली वन जंगलले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।
२०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको बताइन्छ । जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।