Aarthikaina
फर्पिङको पचली भैरव दरबारमा कोटघर शिलान्यास

काठमाडौं । फर्पिङको झम्केश्वरीस्थित ऐतिहासिक दरवारको भग्नावशेष क्षेत्रमा कोतघर पुर्ननिर्माणका लागि शिलान्यास भएको छ । फागुण ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर कोटघर परिसरमानै आयोजित एक समारोहबीच बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जन, मुख्य सचिव बैकुण्ठ अर्याल, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ डंगोल र दक्षिणकाली ६ का वडाध्यक्ष शैलेशमान मानन्धरले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

प्रत्येक वर्ष घटस्थापनामा देशबासीका लागि सामुहिक जमरा राख्ने कोतघर  किरातकालिन राजा पचली भैरवको दरवार मानिन्छ । लिच्छवीकालिन संरचना रहेको झम्केश्वरी दरवार पनि भनिने सो कोटघर लामो समयदेखि भग्नावशेषको रुपमा रहेको थियो । जुन कोतघरलाई वडाध्यक्ष शैलेन्द्रमान मानन्धरको पहलमा परम्परागत नेवारी बास्तुकलायुक्त हुने गरी पुर्ननिर्माण हुन लागेको हो । पूर्णत: दचि अपा, सुर्कि, चुना र झिङगति छाने तीन तल्ले हुने गरी बन्ने कोतघर  ५२, ४९ फिट क्षेत्रफलको संरचनामा बन्न लागेको हो ।

दक्षिणकाली नगरपालिकाको ५० लाख अनुदान रहेको कोतघर निर्माणको कार्यदेश ४८ लाख ५० हजार रुपैयाँ रहेको छ भने र जनश्रमदान चार लाख ८५ हजार रुपैयाँ रहेको सो कोतघर निर्माण पूर्ण हुन एक वर्षको समय लाग्ने जनाइएको छ । कोत घर पुर्ननिर्माण लगतै परम्परागत जात्रा पर्व निकाल्ने, जमरा राख्नेदेखि फर्पिङ क्षेत्रका पुरातात्विक सांस्कृतिक सामग्रीहरु संकलन, संरक्षण गर्न संग्रहलयको रुपमा प्रवद्र्धन गर्ने बताईएको छ ।

Manakamana Cable Car

फर्पिङ– दक्षिणकाली, बज्रयोगिनीदेखि केशरक्याव गुफासम्म

काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदास्थलहरु मध्ये गोपाल तथा किरातकालिन सभ्यता बोकेको फर्पिङग र यसले समेटेको कला संस्कृति पनि हो । काठमाडौंको कालिमाटीबाट १६ कि.मी. दक्षिण बज्रयोगिनी र दक्षिणकाली बीच नागको फणाझैं फैलिएको ऐतिहासिक नेवार बस्ती फर्पिङ किराती शब्द ‘फरपिङगु’बाट आएको बताईन्छ । चाँपको फुल फुलेको डाँडामा रहेकी देवीलाई चम्पादेवी भनियो । जुन डाडाँको पादमा नागको फँरा झैं फैलिएको बस्ती फर्पिङग भनियो भने शिखी बुद्धले ध्यान बसेको ध्यानाच्वबाटै फैलिएको बस्तीलाई शिखरापुर भनिएको बताईन्छ । 

महायानी धर्मगुरु पद्म संम्भव, गुरु गोरखनाथ, बज्रयानी गुरु ओदियानाचार्य जस्ता अनेक तान्त्रिक ज्ञानी योगीहरुले ध्यानगरी सिद्धी प्राप्त गरेको पवित्र स्थल भएकोले फर्पिङग महायानी, बज्रयानी र तन्त्रसाधकहरुको केन्द्रस्थल मानिन्छ ।

काठमाडौंबाट तराई पुग्ने सबैभन्दा छोटो ५६ कि.मी.फर्पिङ–हेटौंडा मार्ग समुद्र सतहबाट १५ सय मिटर उचाइमा अवस्थित छ । एक आख्यानुसार, नेपाल संवत शुरु हुनुभन्दा एक सय ८३ वर्षअघि राजा भीमार्जुन देवले फर्पिङलाई कोटाल, कोछु (लाय्कु झम्केश्वरी दरबार क्षेत्र) टिपी, थल्कु, यल्खु, कोर्पु र थर्पु गरी सात टोलमा विभक्त गरिएको भनाई छ ।

त्यसैगरी फर्पिङ बस्तीको रक्षाका लागि तन्त्रसाधनागरी स्थापित अष्टमातृका पीठहरुमा कटुवाल दह दनुवार गाउँमुनिको माहेश्वरी पिठ, यसियाकै दोस्रो विद्युत पावरहाउस चन्द्रनहर नेरको वाग्मती किनारामा ब्रम्हायणी, फर्पिङ बसपार्कमुनि कुमारी, दक्षिणकालीकी आमा भनिने डाडाँको चामुण्डा र नख्खु खोलाको नीलवाराही, हुड्को खोलाको इन्द्रायणी, शेषनारायणको बैष्णवी र डल्लु खोलामा महालक्ष्मी स्थापना गरिएका थिए । त्यसैले फर्पिङलाई महायानी, बज्रयानीगुरुद्धारा सिद्धी प्राप्ति गरेको पवित्र तिर्थस्थलको भूमि मान्दै ध्यान दर्शन गर्नेहरु पुग्ने गर्दछ याहाँ  ।

हालै शिलान्यास सम्पन्न कोतघर संग्रहालयमा यी र यस्ता सम्पदा बारे जानकारी दिने पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको संकलन राखिने समेत सो अवसरमा बताईएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update