
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार छैटौं जित निकालेको छ । म्यानचेस्टर युनाईटेडले आईतबार भएको खेलमा घरेलु टोली लुटन टाउनमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।
म्यानचेस्टर युनाईटेडका लागि रासमोस होजलुन्डले सुरुवातमै दुई गोल गरेपछि जित सहज बन्यो । खेलको ४० सेकेन्डमै उनले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले सातौं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २–० को अग्रता दिलाएका थिए ।
लुटन टाउनका काल्टोन मोरिसले खेलको १४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि थप गोल हुन भने सकेन ।
पछिल्लो जितले म्यानचेस्टर युनाईटेड चौथों स्थानको एन्टन भिल्ला भन्दा मात्र ५ अंकले पछि छ । लुटन टाउनविरुद्धको जितले युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा कायम राखेको छ ।
म्यानचेस्टर युनाईटेड ४४ अंक सहित तालिकाको छैटौं स्थानमा छ । लुटन टाउन २० अंक जोडेर रेलिगेशन जोन भन्दा एक स्थानमा माथि छ ।
यस्तै, आइतबार अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले हरायो । जितपछि ब्राइटन ३८ अंकमा सातौं स्थानमा उक्लेको छ । अंक तालिकाको पुछार रहेको सेफिल्डको १३ अंक छ ।