Aarthikaina
क्यानडाविरुद्ध नेपालको रोमान्चक जित

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा रोमान्चक जित हात पारेको छ । बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित दर्ता गरेको हो ।

नेपालले जितको लागि दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै २ सय १७ रनमा समेटियो । कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो । जिततर्फ अघि बढेको क्यानडाको अन्तिम विकेटको रुपमा रहेका इशवरजोत सोहीलाई रोहितले बोल्टआउट गरेका थिए ।

त्यसअघि, निकोलस कृतनले ६८ र प्रगत सिंहले ५० रन बनाउँदै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । हर्श ठाकरले ३२ र ओपनर आरोन जोनसनले २० रनको योगदान गरे । क्यानडाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।

Manakamana Cable Car

नेपालका लागि कप्तान रोहितले सर्वाधिक ४ विकेट लिएको खेलमा ललित राजवंशीले २ विकेट झारेका थिए । सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान १/१ विकेट लिएका थिए । । रिजन ढकालले डेब्यु खेलमा १ विकेट लिएका थिए ।

त्यसअघि, कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको इनिङ्स खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले त्यसलाई कायम राख्न सकेनन् ।

आसिफ शेख र कप्तान रोहित पौडेललाई समान ८/८ रनमा गुमाएको नेपालले भिम सार्कीलाई १७ रनमा गुमाएको थियो । कुशल मल्लले २० रन र आरिफ शेखले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए ।

सोमपाल कामीले २७ रन, पवन सरार्फले १५ रन, रिजन ढकालले ४ रन, र ललित राजवंशीले १ रन बनाएका थिए । सुर्य तामाङ १० रनमा नटआउट रहेका थिए । नेपालको राष्ट्रिय टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका थिए ।

क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए । साहिद अहमदजई र हर्ष ठाकरले समान १/१ विकेट हात पारेका थिए ।

नेपालले डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि क्यानडालाई घरेलु मैदानमा बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो । तीन म्याचको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update