Aarthikaina
रोजगारमूलक प्रशिक्षण कार्यक्रमका लागि छ उद्योगसँग सम्झौता

काठमाडौं । रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र छ उद्योगहरूबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि आइतबार गरिएको उक्त त्रिपक्षीय सम्झौतामा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।

सम्झौता गर्ने छ उद्योगहरूमा लिटमस् इन्डस्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि, र रन सुज इन्डस्ट्रिज प्रालि छन् । सम्झौताअनुसार यी उद्योगले एक हजार छ सय ६५ जना प्रशिक्षार्थी छनोट गरी प्रशिक्षण पश्चात् कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन् । प्रशिक्षार्थी कामदारहरूको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारको तर्फबाट केन्द्रले व्यहोर्ने छ ।

Manakamana Cable Car

श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर उपयोग गर्न र रोजगारमूलक तथा सिपमूलक तालिम प्रदान गर्न सरकारले बजेट छुट्याएको छ । यो कार्यक्रमअन्तर्गत उद्योगले कम्तीमा १८ महिना रोजगारी दिने सुनिश्चितता गर्नुपर्छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले यो कार्यक्रमको सफल कार्यान्वयनबाट उद्योगलाई दक्ष जनशक्ति उपलब्ध हुने बताए । देशमा नै भएका जनशक्ति विदेश पलायन हुने र यहाँ आवश्यक पर्ने जनशक्ति विदेशबाट झिकाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले उद्योगको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमको ल्याएको मन्त्री रिजालले बताए ।

कार्यक्रमबाट स्वदेशमै तालिम प्राप्त दक्ष जनशक्ति निर्माण हुने र देशभित्रै सिपयुक्त रोजगारीको अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चालू आर्थिक वर्षका लागि नौ वटा उद्योगहरूले २१ सय प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएको जानकारी दिए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष रोहित गुप्ताले आगामी वर्ष कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरूलाई समेट्नुपर्ने बताए । सीटीईभीटीबाट मान्यता प्राप्त पाठ्यक्रम भएमा यस कार्यक्रमले अझ ठूलो उपलब्धि हासिल गर्ने उनको भनाइ थियो । यस्तै, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरेले दक्ष जनशक्ति विकास गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

यो कार्यक्रम सञ्चालनका लागि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रमार्फत् इच्छुक उद्योग वा सम्बद्ध महासङ्घ र सङ्घलाई आवेदन आह्वान गरिएको थियो । सोहीअनुरूप कार्यक्रम सञ्चालनमा साझेदारी गर्नेगरी नेपाल उद्योग परिसघंमार्फत छ वटा उद्योगको आवेदन परेका थियो । परिसंघका अनुसार अरिहन्त मल्टिफाइबर लिमिटेडले सात सय २५, किरण सुज म्यानुफ्याक्चरर्सले छ सय, मोडर्न स्लिपर इन्डस्ट्रिज प्राइभेट लिमिटेडले एक सय ५०, लिट्मस इन्डस्ट्रिजले एक सयजना, रन सुजले ५० र बाबा जुट मिलले ३६ जना कामदारलाई कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी गराउने छन् ।

यस कार्यक्रमअन्तर्गत यस वर्ष चार हजार जनालाई दक्ष बनाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेकोमा करिब १६ हजार जनाका लागि प्रस्ताव प्राप्त भएको हो । कार्यक्रममा उद्योग सचिव मुकुन्दप्रसाद निरौला, नेपाल सरकारका उच्च अधिकृतहरू, उद्योग मन्त्रालयकी पूर्वसचिव यामकुमारी खतिवडा, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, परिसंघको रोजगारदाता परिषद्का सभापति ध्रुव रिजाल, नेपाल तयारी पोशाक महासंघका अध्यक्ष पशुपतिदेव पाण्डेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update