Aarthikaina
नबिल बैंकको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको थियो ।

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्यालाई मध्यनजर गर्दै बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो । 

‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले विदेशिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले विदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पु¥याउने मेरो विश्वास छ’ मन्त्री भण्डारीले भने । उनले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले कार्यक्रम अघि बढाएको भन्दै आभार प्रकट गरे । सहज र सरल ढंगबाट वित्तीय सेवा प्रवाह गरी यो कर्जालाई देशव्यापी बनाउन सके देशको विकासमा टेवा पुग्नेमा विश्वस्त रहेको मन्त्री भण्डारीले बताए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मिडियामा विदेशिएका नेपालीहरूको मात्र समाचार बन्ने र फर्केका नेपालीहरूको डाटामा कुरा नहुने बताउँदै नबिलले फर्केका नेपालीहरूको सिपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम साँच्चै नै अहिलेको आवश्यकता रहेको बताए । नेपाल फर्केका नेपालीहरूको पुँजी र सिपको उपयोग गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको जानकारी दिँदै नबिलले पनि साथ दिएकोमा उनले आभार व्यक्त गरे ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए । ‘यो कर्जा योजना बैंकले व्यावसायिकरूपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रूपमा लिएका छौँ’, अध्यक्ष पौड्यालले भने ।

अध्यक्ष पौड्यालले प्रवासमा काम गरेर स्वदेश फर्केका नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्न, उनीहरूले हासिल गरेको ज्ञान र विशेषज्ञताबाट उद्यमशीलता प्रवर्द्धन गर्न यो कार्यक्रम निकै उपयोगी हुने बताए । साथै, उनले विदेशबाट फर्किएका नेपालीलाई उनीहरूको सिपको उपयोग गर्नु, उनीहरूलाई उद्यमशील बनाउन तथा राष्ट्रिय अर्थतन्त्र विस्तार गर्नु यो कार्यक्रमको लक्ष्य भएको जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्ता योजनामार्फत् बैंकले दिगो यात्रालाई जोड दिएको बताए । बैंकले सार्वजनिक गरेको यस्तो स्किम दिगो बैंकिङ विकासको लागि कोशेढुंगा साबित हुने उनले उनको भनाइ छ । अर्थतन्त्रमा साना तथा मझौला व्यवसायीहरूको ठूलो योगदान रहेको बताउँदै उनले भने, ‘नबिलले उद्यमशीलता विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनोरसिप कार्यक्रममार्फत् उद्यम विकासमा आवश्यक ज्ञान प्रदान गरिरहेको छ भने नबिल बैंकको यस्तो कर्जा योजनाले देशकै उत्पादकत्व बढाउन मद्दत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ ।’

बैंकका अनुसार यो कर्जा विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको हो । यो कार्यक्रमअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइने छ । यो कर्जामा आधारदरमा जम्मा एक दशमलव पाँच प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

बैंकको एसएमई, एमएफ तथा सस्टेनेबल बैंकिङ प्रमुख अमित श्रेष्ठले यस नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी गराए । ‘वैदेशिक रोजगारबाट फर्कनु भएका तथा हाल वैदेशिक रोजगारमा रहेका नेपालीहरूको परिवारलाई वित्तीय पहुँच पुर्याउन हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,’ उनले भने । सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने नबिल बैंक उद्देश्य रहेको र साना तथा मझौला उद्यमले स्थानीय अर्थव्यवस्थालाई सुदृढीकरण गर्नुका साथै समाजमा रोजगारी सिर्जना गर्ने उनले बताए ।

यसले रेमिट्यान्सलाई सही ठाउँमा उपयोग गर्न समेत प्रोत्साहन पुग्ने विश्वास बैंकले राखेको छ । यो कर्जा योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ । बिहीबार यो कार्यक्रममा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका सहसचिव विमलप्रसाद बराल, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट, कार्यकारी निर्देशक गुरु पौडेललगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले दुई सय ६६ वटा शाखा सञ्जाल, २२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १३ वटा एटीएम मेसिनबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update