Aarthikaina
‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ पुल्चोक क्याम्पसका विद्यार्थीलाई 

काठमाडौं । एनसेलले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गरेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

कम्पनीका अनुसार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औँ वर्ष हो । यस कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्ट सम्मान प्रदान गरिन्छ । यस वर्ष २०८० का लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै, उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका छ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

Manakamana Cable Car

इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा.शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरूपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्सियल अफिसर उमेर मोहसिन र एक्टिङ चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ पुस्तालाई सशक्त बनाउने कम्पनीको प्रतिबद्धताअनुसार छात्रवृत्ति तथा सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए । इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. जोशीले नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा समेत धेरै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताए ।

यसै अवसरमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ । यसअघि दुई पटक एनसेल छात्रवृत्ति प्राप्त गरेका र यो वर्ष इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी एनसेल उत्कृष्टता सम्मान प्राप्त गरेका विवेक खनालले यसले विद्यार्थीहरूलाई लगनशील भएर आफ्नो पढाइमा लाग्न उत्प्रेरित गर्ने बताए ।

२०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमश:द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्छन् । कूल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरूबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्छन् ।

उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका एक/एक जना र यी पाँचै संकायका छात्राहरूमध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update