काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको तालिम दिइएको छ । कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागको अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएको हो ।
दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेश नभए पनि समयको माग र बजारलाई हेरेर नन–क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पोख्त बनाउनका लागि कलेजले तालिम चलाएको उनको भनाई छ ।
नेपालमै पहिलो पटक कलेजस्तरमा यति लामो तालिम दिन पाउँदा आफुहरु खुशी रहेको कलेजको इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यम कृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिको माग रहेको र यो कोर्षले विद्यार्थीहरुलाई सीपसँग जोड्ने हुँदा जागिर प्राप्तिका लागि थप सहयोग पुग्ने उनीहरुको भनाई छ ।
अटोमेसनको दुनियाँमा पीएलसीको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयोग गर्ने बताए । कलेजस्तरमै यस्ता सीपयुक्त तालिमहरू पाउँदा अध्ययनपश्चात व्यवसायिक क्षेत्रमा अगाडी बढ्न धेरै सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
कलेजका करिब ५० जना विद्यार्थीहरुले एक महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा पोखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिमार्फत सञ्चालित कलेजले विद्यार्थीहरूलाई समय समयमा विषयगत रूपमा विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेको छ ।