Aarthikaina
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ? (भिडियोसहित)
  • डा.पर्शुराम बिष्ट

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेका व्यक्तिलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो ।

चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने छ । जाडो वा चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिने गरी बस्नु हुँदैन । जाडो वा चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ र दमले बढी च्याप्छ ।

सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैन । बालबालिकाहरुमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन । सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नु पूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ । स्वास नली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ, त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालीन रुपमा फुल्ने कारणले दम हुने गर्दछ ।

Manakamana Cable Car

स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागिरहने भए दम हुन सक्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने,  धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना अत्याधिक हुन्छ ।

बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्छ । बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धित हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ ।

उपचार गरिसकेपछि पुन: केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरु आइरहने, चिलाईरहने, दागहरु आउने, केही कुराहरुको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने वित्तिकै सिओपिडीको जाँच गर्नुपर्छ ।

वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ । पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन । अत्याधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवालगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ ।

मुटुको कारण हुन सक्छ दम

मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ । वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी(पल्मोनरी फङ्सन टेस्ट) गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ ।

दम निको हुँदैन तर नियन्त्रण गर्न सकिन्छ

दमको रोगीहरुलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ,  धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ ।

जथाभावी अक्सिजन नलगाउँ

प्राय:दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन हुँदैन । शरीरमा अक्सिजनको मात्र कति छ, जाँच्नु पर्छ । हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशनभन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ ।

मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनु पर्छ । कहिले काँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ ।

भिडियोको लिंक:

https://drive.google.com/file/d/1IFmTrgtV71v897_crqmsf7TM-YyedLCy/view?usp=drive_link

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update