काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी पुगेको छ । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको हो ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए । उनले भने, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुबैको हो ।’
चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्याङ्कअनुसार पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका छन् । युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।