Aarthikaina
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/०८० मा छ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/०८१ को मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् ।

Manakamana Cable Car

आव २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाखको १४ दशमलव २५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र शून्य दशमलव ७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) दुई करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पुँजी छ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई चार अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।

त्यस्तै, कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिए । योसँगै कम्पनीको संस्थापक समूहमा पाँच जना सञ्चालक भएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update