Aarthikaina
अपि पावरको २०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा भएका सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनलाई पारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/०८० को बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरू पारित गरेको हो । यसैगरी आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि गरिएको छ ।

Manakamana Cable Car

कम्पनीले आफ्नो लगानी तथा बैंक ऋणबाट दार्चुला जिल्लामा बहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रूपमा आठ दशमलव पाँच मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले सो आयोजना २०७२ भदौ २ गतेदेखि राष्ट्रिय ग्रिडमा जोडेको थियो ।

कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरिरहेको छ । कम्पनीद्वारा सञ्चालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत् प्राधिकरणको अत्तरीया–बलाँच एक सय ३२ केभी ट्रान्समिसन लाइनमार्फत विद्युत् प्रवाह भइरहेको छ ।

यसैगरी, अपि पावरले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत् आयोजना माथिल्लो चमेलिया जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न गर्दै राष्ट्रिय ग्रिडमा विद्युत् जोडिसकेको छ । साथै, कम्पनीले धनुषाको ढल्केबरमा एक मेगावाट, बाराको सिमरामा एक मेगावाट र  चार मेगावाटको चन्द्रनिगाहापुरमा सोलार आयोजनाको निर्माण गरी राष्ट्रिय ग्रिडमा जोड्न सफल भएको जनाएको छ ।

सभामा कम्पनीका सञ्चालक समितिका प्रबन्धक निर्देशक सञ्जीव न्यौपानेले अर्को वर्ष १० प्रतिशतभन्दा माथि लाभांश दिने सेयरधनीलाई प्रतिबद्धता जाहेर गरेका छन् । उनले सेयरधनीलाई सरप्राइजको रूपमा अपि पावरले ११ मेगावाटको सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ८० प्रतिशत लगानी गरेको बताए । यस कम्पनीको ४० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यसमा अपिको ८० प्रतिशत रहने र बाँकी प्रोमोटर र सर्वसाधारणले समेत लगानी गर्न पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update