Aarthikaina
टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने

काठमाडौं  । नेपाल टेलिकमले सेयर धनीहरूलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकममध्येबाट सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबारदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । कम्पनीको आइतबार राजधानीमा भएको उक्त सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको बासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू समेत सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी, साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८०/०८१ को लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गरी उनीहरूको पारिश्रमिक समेत तोकेको छ ।

Manakamana Cable Car

सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रूपमा मनीषजङ्ग जोशीलाई चयन गरेको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अतिविकट तथा दुर्गम क्षेत्रमा समेत कम्पनीले सेवा विस्तार तथा वितरण गरेको बताए । विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू लक्षित गरेको उनको भनाइ थियो ।

कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा सात दशमलव ८२ प्रतिशतले वृद्धि भई ६१ दशमलव ५१ प्रतिशत पुगेको उनले जानकारी दिए । उनका अनुसार कम्पनीले कूल ४४ दशमलव ४२ अर्ब आम्दानी गरी सात दशमलव ९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत कूल आयको ६४ दशमलव शून्य सात प्रतिशतले हुन आउने २८ दशमलव ४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याएको उनले बताए ।

कार्यक्रममा उनले कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टी सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको जानकारी दिए ।

देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय तहहरूमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनको भनाइ थियो । अतिविकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए । देशैभर हाई व्याण्डविथ कनेक्टीभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गति लिएको समेत उनले बताए । उनले देशभर फोरजी/एलटीई तथा एफटीटीएच सेवा विस्तारका लागि ब्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको उल्लेख गरे ।

प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ । अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने उनले बताए । उनका अनुसार विद्युत् आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको समेत उनले जानकारी दिए । देशैभर यसका लागि आवश्यक कार्य भइरहेको उनले बताए । जीएसएम मोबाइल सेवाको सञ्चालन अनमुति पत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भएअनुसार दोस्रो अनुमतिपत्रको लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइ सकिएको उनले जानकारी दिए ।

यस्तै, उनले फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहको र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भएपश्चात् परीक्षण गरिने बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update