Aarthikaina
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरूद्ध आपत्ति

काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै प्रतिष्ठानका पूर्वपदाधिकारीहरूले आपत्ति जनाएका छन् । उनीहरुले पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीपरिषदमा पठाएको प्रति पदाधिकारीहरूले आपत्ति जनाएका हुन् । उनीहरूले दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरूसँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाएका हुन् ।

Manakamana Cable Car

आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको महत्त्व प्रकाश पार्दै ट्रेकिङ गाइड, हिमालसम्बन्धी प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताइन् । प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्ने ठाउँमा खारेज गर्न खोजेर गैर जिम्मेवारपन देखाएको उनको भनाइ छ।

शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समय सापक्ष बनाउँदै लैजानु पर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धि समाप्त पार्न खोजेको शेर्पाले दाबी गरिन् । उनले न्याथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुबै निकायको भूमिका फरक रहेको स्पष्ट पारिन् । जसकारण दुई निकायलाई एक आपसमा गाभ्न नहुने शेर्पाको तर्क छ । 

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए । पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरूलाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई आग्रह गरे । 

त्यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरू पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनुपर्नेमा राज्यले नै  निष्कृय पार्न लागिपरेको भन्दै आपत्ति जनाए । उनले नेपालको हिमालका बारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविध्यालयको रूपमा अगाडी बनाउन समेत सरकालाई आग्रह गरे । प्रतिष्ठानका पूर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले व्यवस्था गरेको बताए ।

त्यस्तै, प्रतिष्ठानका गुडविल एम्बेष्डर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विद्यार्थीहरू आन्दोलनमा उत्रिने चेतावनी दिए ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update