Aarthikaina
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ । एनसेलले जल तथा मौसम दुबैका कारण हुने प्राकृतिक प्रकोपका बारेमा पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले दुबै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणालीअन्तर्गत अब १३ वटा प्रकोपका बारेमा आमजनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषण र घुम्रपात आदि रहेका छन् ।

Manakamana Cable Car

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदिश्वर कर्माचार्यले एक कार्यक्रमका बीच सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

विभागका महानिर्देशक डा.कर्माचार्यले कुनै प्राकृतिक विपद् घट्नुभन्दा अगावै प्राप्त हुने पूर्व सूचनाले त्यस जोखिमबाट बच्न सकिने बताए । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरूप पूर्व सूचना प्रवाहका लागि यो सहकार्य गरिएको उनले जानकारी दिए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विभागसँग १३ वटा विपद्लाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी गरिएको यो सहकार्यले सम्भावित विपदबाट जोगाउने बताए । पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई सम्भावित जोखिमको बारेमा सूचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ ।

सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ । २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो । जल तथा मौसम सम्बन्धित अन्य विपद्हरूमा पनि पूर्व सूचना प्रणाली लागू गर्नका लागि सम्भावनाहरू माथि अध्ययन भइरहेको विभागले जनाएको छ ।

पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरण गर्न विभागले नयाँ टेलिमेन्ट्री उपकरणहरू जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेसनहरू विस्तार गरेसँगै एनसेलले त्यस्ता स्टेसनहरूलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update