Aarthikaina
सिबिफिनको अध्यक्षमा पौडेल चयन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् । अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएपछि कार्यसमितिको १५औँ बैठकले पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

एनएमबी बैंकको आसन्न साधारणसभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

२०७६ सालमा स्थापित सिबिफिनमा गोल्यान संस्थापक अध्यक्ष हुन् । सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको उनले बताएका छन् । 

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवम् विस्तारमा समेत अतुलनीय योगदान छ । राष्ट्रिय आवश्यकता र आमजनताको अपेक्षाबमोजिम स्वदेशी उत्पादकत्व अभिवृद्धि, उपयोग एवम् निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सवल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले भूमिका निर्वाह गर्दै आएका छन् ।

गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५औँ बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मतरूपमा अध्यक्ष चयन गरेको हो । अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।

सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएपछि नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैंक तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जालको सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा समेत छन् । सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहेका पौडेल सन् २०२२ देखि म्यानेजमेन्ट एसोसियएसन अफ नेपाल (म्यान) को समेत अध्यक्ष रहेका छन् ।

अध्यक्ष पौडेलले डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म युरोपियन इकोनोमिक्स अफ चेम्बर अफ कर्मश (ईईसी) को कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैंकिङ इन्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए ।

बैंकिङसहित राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उनले हासिल गरेको बृहत्तर ज्ञान, अनुभव तथा दूरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइ प्राप्त गर्नुका साथै आर्थिक एवम् बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूको न्यूनीकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update