Aarthikaina
बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् । गोरखा चेम्बर अफ कमर्सद्धारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यापार प्रर्वद्धन मेलालाई सम्वोधन गर्दै उनले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल शुरु गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बढुगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’ उनले विद्युत निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने औँल्याएका छन् ।

Manakamana Cable Car

त्यसैगरी, अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए । कृषिलगायतका स्थानीय उत्पादनको बजारीकरण एवं प्रर्वद्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रवाभकारी समन्वय हुनुपर्ने उनको भनाई छ । 

नेपालको जडीबुटीलाई प्रर्वद्धन एवं प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीनलगायतका देशमा माग उच्च रहेको छ ।’ मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए ।

मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा उनले जोड दिए । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको अध्यक्ष मल्लले बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update