Aarthikaina
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि

काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । हेम्स सिनियर ब्वाइजमा, इनोभेटिभ सिनियर गर्ल्समा र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले काठमाडौं जेभियर्सलाई ४६–३७ ले पराजित गर्यो । हेम्सका हेमन्त राजवंशीले २६ अंक जोडे । सनसाइन तेश्रो भयो ।

Manakamana Cable Car

सिनियर गर्ल्सको उपाधि भिडन्तमा इनोभेटिभले एसियन पब्लिकलाई १२–११ को साँघुरोअन्तरले हरायो । इनोभेटिभकी रिद्धि घर्ती मगरले ६ स्कोर गरिन् । श्रृजनशील तेश्रो स्थानमा रह्यो ।

जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले सनसाइनमाथि ३९–१४ को सहज जित दर्ता गर्यो । काठमाडौं जेभियर्सका अनमोल कुसुवारले १७ अंक बटुलेका थिए । चैतन्य संस्कार तेश्रो बन्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय हेमन्त, रिद्धि र अनमोल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सका दिनेश गौतम, सिनियर गर्ल्समा एसियनकी आकृति माझी र जुनियर ब्वाइजमा चैतन्यका एलिस तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थनमा रहेका थिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष दिनेश पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी ५० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । खेलहरु शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्सको कोर्टमा खेलाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update