Aarthikaina
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन

काठमाडौं । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भएका हुन् । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित गर्यो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गरेका थिए ।

Manakamana Cable Car

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ ले हरायो । विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अंक जोडिन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोश्रोले १५ हजारका दरले नगद पुरस्कार पाएका थिए ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए । दुवैले जनही ५ हजार नगद पुरस्कारका साथै ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update