Aarthikaina
मेडिसिटी अस्पतालद्वारा वृहत स्तन हेरचाह केन्द्र सुरु

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले आइतबारबाट व्यापक स्तन हेरचाह केन्द्र सञ्चालनमा ल्याएकोे छ । अस्पतालका अनुसार महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

सेन्टरको उद्धघाटन नायिका तथा सामाजिक अभियान्ता मानिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीबाट गरिएको हो ।

उक्त केन्द्र अन्र्तगत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्धेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए ।

कार्यक्रममा बोल्दै नायिका मनिषा कोइरालाले विदेशमा जसरी नै नेपालमा पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन् । उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन् । उनले ग्रामिण भेगका महिलाहरुमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको बताइन् ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुशी व्यक्ति गरिन् । उनले महासंघसँग जोडिएका ग्रामिण भेगका महिलाहरुमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने बाचा गरिन् ।

महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीले महिलाहरुमा जनचेतनाको कमी रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन । सरकारले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्धेश्य बोकेको छ, तर जबसम्म महिलाहरुको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिकरुपमा सशक्तिकरण गर्न सकिँदैन ।’

आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको उक्त स्तन हेरचाह केन्द्रका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा.ज्योति रायमाझीले बताइन् । उनले भनिन्, ‘स्तन क्यान्सरबारे जानकारी तथा छामेर पत्ता लगाउन सक्नेगरी हामीले स्व–स्तन परीक्षण प्रशिक्षणको व्यवस्था गरेका छौं ।’

त्यस्तै, स्तन क्यान्सर भन्नेवित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको छ, जुन गलत हो । यो रोग पुरुषमा पनि देखिन्छ । अध्ययनहरुका अनुसार एक लाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एक लाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ ।

पुरुषहरुका लागि पनि हामीले सोही तरिकाबाट क्यान्सर पत्ता लगाउने तालिम प्रदान गर्दछौं । तालिममा कस्तो ट्युमर क्यासर हुन् र कस्तो ट्युमरलाई उपचार नगर्दा पनि शरीरलाई केही असर पार्दैन भन्ने विषयमा पनि सचेत गराउने उद्धेश्यका साथ यो सेन्टर स्थापना गरिएको डा.ज्योतीले बताइन् ।

त्यस्तै, रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेका डा.कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर पत्ता लगाउन सकिँदैन । यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ ।

प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ । ‘मटरको दानाभन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ । त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा.कुन्दनाले भनिन् ।

सामान्यतया, म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्षभन्दा कम उमेर समूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ । तर, जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा,कुन्दना बताउछिन् ।

स्तन हेरचाह केन्द्र खुलिसकेपछि बिरामीहरुले स्तनसम्बन्धि सबैखाले परीक्षण अस्पतालमै गर्न पाउनेछन् । दक्ष चिकित्सकहरुबाट जाँच्ने तथा सल्लाह लिने, स्तनको एमआरआई, बायोप्सी, युएसजी, म्यामोग्राम परीक्षणदेखि सर्जरीको पनि सेवा एकै ठाउँबाट लिन सकिन्छ ।

साथै, अस्पतालले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा उपचारका लागि आउने सबै व्यक्तिहरुलाई एक महिना(जनवरी ३१ सम्म)सम्म सबै परीक्षणमा १५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । योसँगै स्तन क्यान्सरसँग सम्बन्धित हरेक शल्यक्रिया तथा प्लास्टिक सर्जरी (सर्जिकल प्रसिडिउर)मा पनि १५ प्रतिशत छुट रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update