Aarthikaina
समृद्धि फाइनान्स राष्ट्र बैंकको निगरानीमा

काठमाडौं । समृद्धि फाइनान्स निरन्तर ओरालो लागेपछि राष्ट्र बैंकको निगरानीमा परेको छ । कम्पनीको संस्थागत सुशासनमा कमजोर देखिएको र केही ठूला घोटालाका कारण वित्तीय रूपमा कमजोर देखिएको छ । कम्पनीमा प्रवाहित केहि कर्जामा कैफियत देखिएको छ ।

समृद्धि फाइनान्समा धेरै खालका खातामा गडबडी पाइएको राष्ट्र बैंकले जनाएको छ । फाइनान्सका उच्च अधिकारीहरुकै संलग्नतामा स्वीकृत केही कर्जाहरु शंकास्पद रहेका उजुरी आएपछि अध्ययन थालिएको राष्ट्र बैंकका एक अधिकारीले भने ।

Manakamana Cable Car

संस्थागत सुशासनमा देखिएका विगतका गडबडीहरू फेरि दोहोरिन थालेपछि र प्रवाह भएका लोनमै समस्या आउन थालेपछि कम्पनीको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ । पछिल्ला दुई प्रतिवेदन हेरेमात्रै फाइनान्सको पछिल्लो अवस्था छरलंग हुने बताइएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै पनि यो कम्पनी करिब एक करोड रुपैयाँले खूद घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा त ३ करोडभन्दा बढीले खूद घाटामा थियो । घाटैघाटाले थिचिएको कम्पनी सुध्रिनुको साटो पछिल्लो समय बिग्रिन थालेको र यसको रेपुटेसन समेत बिग्रिरहेकोमा कर्मचारी स्वयम् पनि चिन्तित छन् ।

पहिलो त्रैमासमा कम्पनीको वार्षिकीकृत इपीएस ४.८३ रुपैयाँले नेगेटिभ रहेको छ । मूल्य आम्दानी अनुपात ५५.२२ गुणाले नेगेटिभ छ भने दोश्रो बजारमा ३०० रुपैयाँ भन्दा बढी मूल्य प्रतिकित्तामा कारोबार भइरहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.७२ रुपैयाँको दयनीय अवस्थामा छ ।

कम्पनीले म्यानेज गरेर खराब कर्जा अनुपात ४.७९ प्रतिशत देखाएको स्रोत बताउँछ । यो कम्पनीको अवस्था अघिल्लो आर्थिक वर्षमा पनि उस्तै थियो । यो अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोडले नेगेटिभ बन्न पुगेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको इपीएस ९.९५ रुपैयाँले नेगेटिभ, मूल्य आम्दानी अनुपात ३२.४८ गुणाले नेगेटिभ र प्रतिसेयर नेटवर्थ ७६.८६ रुपैयाँमा सीमित थियो ।

कुल ८१ करोड ८९ लाख चुक्तापूँजी भएको यो कम्पनी अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म करिब ८ करोडले घाटामा रहेको थियो । करिब ९ करोडले सञ्चालन घाटामा थियो । कम्पनीमा चौथो त्रैमाससम्म खराब कर्जाको अनुपात ४.५९ प्रतिशत थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update