Aarthikaina
घरेलु उद्योग सम्बन्धी प्रविधि अनुसन्धान र विकासका लागि समझदारी

काठमाडौं । घरेलु र साना उद्योग सम्बन्धी प्रविधिको अनुसन्धान र विकासका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ ।

समझदारी अनुसार लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने १० वटा प्रविधिको अध्ययन अनुसन्धान र विकासका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ उपलब्ध गराउनेछ । यस सम्बन्धी समझदारीपत्रमा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन् ।

Manakamana Cable Car

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले लघु, घरेलु र साना उद्योगलाई चाहिने प्रविधिको अनुसन्धानबाट उद्योग र उद्यमी उत्पादन गर्ने उद्देश्य रहेको बताए। उनले अनुसन्धान विना उद्यमी बन्न नसकिने कुरामा जोड दिएका थिए ।

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले स्थानीय श्रम, सीप, पूँजी, प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरूको विकास र प्रवर्द्धनका लागि अनुसन्धानमा लगानी गर्नुपर्ने बताए । उनले लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकास  गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य बढाउने बताएका थिए ।

लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी कार्यहरू गर्न संघीय सरकारको स्थायी संस्थागत संरचनाका रूपमा केन्द्रले काम गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update