Aarthikaina
नक्कली कागजका आधारमा ‘भिजिट भिसा’ मा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ

काठमाडौं । नक्कली कागजातका आधारमा मिलेमतो गरी ‘भिजिट भिसा’ मा विदेश पठाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोल बस्ने सिटी टूर्स एन्ड ट्राभल्सका सञ्चालक ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताएका छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजात सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक हजार ५१३ वटा राहदानी प्रहरीलाई बुझाएको थियो । त्यसमध्ये २४६ जनाको कागजातमा कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र ब्यांक विवरण नक्कली देखिएका थियो ।

नक्कली कागजातका आधारमा केकसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सल्टेन्सी, ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाई विदेश पठाउने खुलेको थियो ।

त्यसमा संलग्न देखिएकाले ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update