Aarthikaina
स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसालौं : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने उनको भनाई थियो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्तानै प्रयोग गर्ने गरेको उल्लेख गर्दै आम उपभोक्ताले पनि त्यसरी नै प्रयोगमा ल्याए स्वदेशी उद्योगको पनि प्रवर्द्धन हुने बताए । उनले नेपाली वस्तु उत्पादनका लागि चाहिने पूर्वाधारको विकासमा सरकारले भरपुर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

मुख्यसचिव अर्यालले सरकार आफैँले उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको दोहोर्‍याए उनले भने, ‘उद्योगीहरुले मात्रै गरेर हुँदैन । हामी उपभोक्ताहरुले पनि सँगसँगै साथ दिनुपर्छ । सरकारले उत्पादन र बजारीकरणलाई सहयोग गरिदिने हो । उत्पादनलाई बढाउनका लागि सरकारले पूर्वाधारको तर्फबाट केही गरिदिन सक्छ । सरकार फेरि आफैँ उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्ने पक्षमा छैन अहिले । विगतमा कुनै बेला त्यो पनि गरियो होला ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी वस्तुको उत्पादनमा नै सरकारले सहयोग गर्नुपर्ने बताए । उनले जुत्ता लगायतका वस्तुहरुमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै त्यस्ता वस्तुहरुको उत्पादनमा सरकारको पनि सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

अध्यक्ष अग्रवालले भने, ‘हाम्रो उद्देश्य हुन्छ कि सरकारले उत्पादनमा नै सर्पोटमा नै अलिकति सपोर्ट गरोस् । केही वस्तुहरुको उत्पादनमा हामी आत्मनिर्भर हुँदै गएका छौं । जुत्तामा पनि हामी आत्मनिर्भर उन्मुख नै छौं । केही जुस उद्योगहरुले निकासी पनि गरिराखेको छ ।’ अध्यक्ष अग्रवालले स्वदेशी वस्तुको उत्पादन र बिक्री वितरणका लागि सरकारले उद्योगमैत्री नीति निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update