Aarthikaina
नेपाल फर्मा एक्स्पो फागुन २५ देखि, १५० भन्दा बढी स्टलहरु रहने

काठमाडौं । नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो ।

फागुन २५ देखि २७ गतेसम्म हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइनेछ । पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको बताए । मिडिया संयोजक बरालले एक्स्पोमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका १५० भन्दा बढी स्टलहरु रहने  बताएका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ । यस वर्षको फर्मा एक्स्पोको नारा ’नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ ।

कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताएका थिए । उनले भारत बाहेक चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताए । उनले काठमाडौंमा भृकुटीमण्डप मात्रै एक्स्पो सेन्टर रहेको र एक्स्पोका लागि सो समयमा खालि नरहेकाले चितवन रोजेको बताएका थिए ।

एक्स्पोका संयोजक रुंगटाले भने, ‘डेढ सय स्टलमध्ये अब यो दुई महिनाको समय बाँकी छ । बुकिङको क्रम जारी छ । विगतको हेर्दा चाइना र अरु  विदेशी कम्पनीहरुको भारत बाहेकका १० देखि १५ वटा र बाँकी रहेको सयदेखि ११० वटा इण्डियन कम्पनीहरुको नै हुने देखिएको छ ।’

प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । एक्स्पो ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update